यस्तो अवस्थामा आउँछ आरडीटी नेगेटिभ, पीसीआर पोजिटिभ

Article Published in NepalKhabar April 16, 2020. बैशाख ४, २०७७

कोरोना भाइरस पहिचानका लागि नेपालमा नमुना संकलनको क्रम बढाउँदै लगिए पनि त्यस अनुपातमा परीक्षण बढाउन सकिएको छैन। यसकाे मुख्य कारण हाे- नेपालमै भएका प्रयोगशाला, उपकरण र दक्ष प्राविधिज्ञको पूर्ण सदुपयोग गर्न नसक्नु।

अहिले नेपालसहित विश्वका २ सयभन्दा बढी मुलुकमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिएको छ। चीनबाट सुरु भएको यो महामारीको केन्द्र पछिल्लो समय युरोप र अमेरिका बनेका छन्। नेपालमा पनि स्थानीय स्तरमा एक महिला संक्रमित भएसँगै यो महामारी दोस्रो चरणमा प्रवेश गरेको छ।

केही दिनयता निरन्तर संक्रमित भेटिन थालेका छन्। यसर्थ कोरोनाविरुद्ध थप सतर्कता अपनाउन र परीक्षण तीव्र पार्न आवश्यक छ। नेपाल सरकारले कोभिड-१९ को संक्रमण पत्ता लगाउन र्‍यापिड डायग्नस्टिक टेस्ट (आरडीटी) र पीसीआर दुवै विधि अपनाएको छ।

वैज्ञानिक नाम सार्स-कोभ-२ भाइरसको संक्रमण जाँच्ने दुई तरिका छन्: र्‍यापिड डायग्नस्टिक टेस्ट (आरडीटी) र पोलिमरेज चेन रियाक्सन (पीसीआर) टेस्ट। आरडीटी- व्यक्ति वा समुदायमा भाइरस संक्रमण छ कि छैन भनेर गरिने परीक्षण हो। कसैमा भाइरस संक्रमण भएमा उसको शरीरभित्र भाइरससँग लड्न रोग-प्रतिरोधात्मक एन्टिबडी प्रोटिन (आईजीएम र आईजीजी) उत्पादन हुन्छन्। यही एन्टिबडी प्रोटिनको मद्दतले ऊ आफैँ ठीक पनि हुन सक्छ। भविष्यमा पनि यही एन्टिबडी प्रोटिनले कोरोना भाइरस संक्रमणको जोखिम कम गर्छ।

तर आरडीटी परीक्षणले आजका दिनमा भाइरस संक्रमण छ वा छैन भन्ने सूचना दिन सक्दैन। पीसीआर विधिले भने कोरोना भाइरस छ वा छैन भन्ने जानकारी दिन सक्छ। नयाँ संक्रमण पहिचान गर्न सक्छ। यसका लागि मानिसको नाक वा घाँटी भित्रबाट नमुना (तरल पदार्थ) लिइन्छ।

नेपालमा प्रयोग भइरहेको आरडीटी विधिले मानिसको रगतमा एन्टिबडी प्रोटिन छ वा छैन भनी परीक्षण गर्छ। कसैमा भाइरस संक्रमण भएमा यो एन्डिबडी प्रोटिन बन्न केही दिन लाग्छ। भाइरस संक्रमण भएको ७ दिनदेखि ६ महिनासम्म (वा योभन्दा पनि बढी) यो एन्डिबडी प्रोटिन मानिसको रगतमा रहिरन्छ। रगतमा यो एन्डिबडी प्रोटिन देखिए, आरडीटी परीक्षणको नतिजा पोजिटिभ आउँछ।

तर भाइरस संक्रमण भएको १ देखि ७ दिनसम्म आरडीटी परीक्षण गर्दा नतिजा नेगेटिभ आउँछ। किनभने यो भाइरस संक्रमणको प्रारम्भिक चरणमा शरीरभित्र भाइरस भए पनि रगतमा एन्डिबडी प्रोटिन बनिसकेको हुँदैन। त्यसैले आरडीटीमा नेगेटिभ देखिएका हरेक मानिसमा पीसीआर परीक्षण गर्न जरुरी हुन्छ। तर नेपालमा आरडीटीमा नेगेटिभ देखिएका मानिसमा कोभिड-१९ का लक्षण देखिए मात्र फेरि पीसीआर परीक्षण गर्ने गरिएको छ। यसले गर्दा धेरै जना संक्रमित पहिचान गर्नबाट छुटेका हुन सक्छन्।

हालै वीरगन्जको क्वारेन्टिनमा रहेकी एक महिलालाई आरडीटी परीक्षण गर्दा नतिजा नेगेटिभ आएपछि आफ्नो घर कैलाली पठाइयो, तर फेरि पीसीआर परीक्षण गर्दा नतिजा पोजिटिभ आयो। यसको मतलब ती महिलामा भाइरस संक्रमणको प्रारम्भिक चरणमा थियो, जुन आरडीटीले पहिचान गर्न सकेन। पीसीआरले गर्‍याे।

भाइरस संक्रमण भएको ७–२१ दिनभित्र आरडीटी परीक्षण गरियो भने नतिजा पोजिटिभ आउँछ। पीसीआर परीक्षण गर्दा पनि पोजिटिभै आउँछ। यसको अर्थ उसमा भाइरस भएको, संक्रमण मध्यम चरणमा रहेको र एन्डिबडी प्रोटिन पनि बनेको प्रमाणित हुन्छ। भाइरस संक्रमण भएको १४–२१ दिन बितिसकेको अवस्थामा आरडीटी परीक्षण गर्दा नतिजा पोजिटिभ आउँछ। तर पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आउन सक्छ।

यसको अर्थ उसमा हाल संक्रमण नरहेको वा निको हुने चरणमा रहेको भनी बुझ्न सकिन्छ। अहिले नेपालमा कतिपय स्थानमा भइरहेको पनि यही हो। आरडीटी गर्दा पोजिटिभ देखिन्छ भने पीसीआर गर्दा नेगेटिभ।

हालै काठमाडौं पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा एकै परिवारका तीन जना (आमा, छोरा र बुहारी) बेलायतबाट कतार हुँदै काठमाडौं आएको करिब तीन साता बितिसकेको थियो। तीनै जनाको पहिले आरडीटीबाट परीक्षण गर्दा नतिजा पोजिटिभ देखियो, तर पुनः पीसीआर परीक्षण गर्दा आमा र छोरामा कोरोना देखियो भने बुहारीमा देखिएन। यसमा कुनै शंका नरहोस्, तीनै जना संक्रमित हुन्।

आमा र छोराको शरीरभित्र अहिलेसम्म भाइरस छ, तर बुहारीको शरीरबाट हटिसकेको छ। बुहारीलाई विदेशमै भाइरस संक्रमण भएको र पछि उनीबाट आमा र छोरालाई सरेको (स्थानीय संक्रमण) हुन सक्छ। संक्रमित परिवारका सम्पर्कमा आएका मानिसको आरडीटीबाट परीक्षण गर्दा नतिजा नेगेटिभ आए पनि पुनः पीसीआर परीक्षण गर्न जरुरी छ।

आरडीटी र पीसीआर दुवै परीक्षणमा नतिजा नेगेटिभ आए मात्र भाइरस संक्रमण नभएको पुष्टि हुन्छ।

आरडिटी परिक्षण पिसिआर परिक्षण नतिजाको अर्थ
नेगेटिभ पोजेटिभ भाइरस संक्रमण भएको १-७ दिन भित्र (प्रारम्भिक चरण) अवस्था, शरिरभित्र आजको दिनमा भाइरस रहेको अवस्था
पोजेटिभ पोजेटिभ भाइरस संक्रमण भएको ७-२१ दिन (मध्यम चरण) अवस्था, शरिरभित्र आजको दिनमा भाइरस रहेको अवस्था
पोजेटिभ नेगेटिभ भाइरस संक्रमण भएको १४-२१ दिन बितिसकिको अवस्था, शरिरबाट भाइरस हतिसकेको वा बिरामी निकोहुने चरणमा रहेको अवस्था
नेगेटिभ नेगेटिभ भाइरस संक्रमण नभएको अवस्था

पीसीआरभन्दा आरडीटी परीक्षणको मूल्य धेरै सस्तो पर्छ। आरडीटी परीक्षणको नतिजा २०–२५ मिनेटभित्र निकाल्न सकिन्छ भने पीसीआर परीक्षणको नतिजा १–४ घण्टा लाग्छ। आरडीटी परीक्षण गर्न कुनै बिजुली वा महँगो उपकरण चाहिँदैन र साधारण तालिमप्राप्त ल्याब असिस्टेन्टले यो टेस्ट गर्न सक्छन्। त्यसैले आरडीटी परीक्षण गाउँगाउँमा ठूलो समुदायमा गर्न सकिन्छ। पीसीआर एउटा जटिल प्रविधि हो र यसका लागि सुविधाजनक प्रयोगशाला र विशिष्ट तालिमप्राप्त प्राविधिकको आवश्यकता पर्छ। त्यसैले पीसीआर परीक्षण सुगम क्षेत्रमा मात्र सम्भव छ।

विज्ञान-प्रविधिमा लगानी गर्ने अवसर

नेपाल कोरोना भाइरस महामारीको दोस्रो चरणमा प्रवेश गरेको छ। यतिबेला नेपाल सरकारको पहिलो प्राथमिकता कोरोना भाइरस परीक्षण गरी संक्रमित पहिचान गर्नु हो। प्रारम्भिक दिनमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (टेकु) मा मात्र पीसीआर परीक्षण हुन्थ्यो भने अहिले यो सेवा नेपालका ११ स्थानमा विस्तार भइसकेको छ। यो धेरै सकारात्मक कुरो हो। तर कोरोना भाइरस पहिचानका लागि नेपालमा नमुना संकलनको क्रम बढाउँदै लगिए पनि त्यस अनुपातमा परीक्षण बढाउन सकिएको छैन। यसकाे मुख्य कारण हाे- नेपालमै भएका प्रयोगशाला, उपकरण र दक्ष प्राविधिज्ञको पूर्ण सदुपयोग गर्न नसक्नु।

नेपाल सरकारले हालै खरिद गरेको पीसीआर मेसिन प्रयोग गर्नुभन्दा धेरै अगाडिदेखि नेपालका विभिन्न अस्पताल, विश्वविद्यालय, सरकारी तथा गैरसरकारी र निजी अनुसन्धान केन्द्र गरी करिब २५ स्वास्थ्य संस्थामा अब्बल दर्जाका पीसीआर उपकरण थिए। यीमध्ये केही टेकुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हाल रहेका पीसीआर मेसिनजत्तिकै क्षमताका छन्। यी पीसीआर उपकरण नेपाल सरकारले खरिद गरेको भन्दा धेरै सस्ता पनि छन्। जुन पीसीआर उपकरण सरकारले तुरुन्तै प्रयोग गर्न पनि सक्छ।

त्यसमाथि नेपालकै विभिन्न विश्वविद्यालयबाट बायोटेक्नोलोजी र मिक्रोबायोलोजीमा दिक्षित, पीसीआर प्रविधिमा तालिमप्राप्त सयौं अनुसन्धानकर्मी तथा प्राविधिज्ञलाई कोरोना भाइरसको परीक्षणमा सघाउन र यसको अध्ययन/अनुसन्धानमा लाग्न सरकारले आह्वान गर्न सक्छ। अमेरिका, बेलायत, जर्मनीजस्ता देशमा कोरोना भाइरसको परीक्षण त्यहाँको सरकारी प्रयोगशालाले मात्र धान्न नसकेर विभिन्न विश्वविद्यालय र निजी कम्पनीको प्रयोगशाला, उपकरण र प्राविधिज्ञलाई उपयोग गरिरहेका छन्।

नेपाल सरकारले हालै खरिद गरेको पीसीआर उपकरण निकै कम क्षमताको भएको पाइएको छ। यो मेसिनले एकपटकमा एक बिरामीको मात्र नमुना परीक्षण गर्न मिल्छ। चौबीसै घण्टा निरन्तर काम गर्दा एक दिनमा जम्मा २४ बिरामीको मात्र नमुना परीक्षण गर्न मिल्ने देखिन्छ। तर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र नेपालका विभिन्न अनुसन्धान संस्थामा पहिलेदेखि रहेका पीसीआर उपकरणबाट एकैपटकमा ८०-९० बिरामीका नमुना परीक्षण गर्न सकिन्छ र सम्पूर्ण प्रक्रिया ३-४ घण्टामै सकिन्छ। चौबीसै घण्टा निरन्तर काम गरियाे भने एक दिनमा ४-५ सय बिरामीको नमुना परीक्षण गर्न मिल्छ। सरकारले देखाएको अदूरदर्शिताले कोरोना भाइरसको परीक्षणमा चाहिने सामग्री खरिद प्रक्रियामा नेपाली प्राज्ञिक तथा वैज्ञानिकसँग परामर्शै नगरेको स्पष्ट हुन्छ।

पीसीआर एउटा महँगो प्रविधि र यसलाई सुविधाजनक प्रयोगशाला चाहिने हुन्छ। पीसीआर प्रविधि कोभिड-१९ बाहेक क्षयरोग, हैजा, मलेरिया, कालाजार, क्यान्सरजस्ता मानिसका रोग तथा पशुपक्षी र गहुँबालीमा लाग्ने रोग पहिचान गर्न पनि प्रयोग गरिन्छ।

नेपाल सरकारले यसलाई खर्चभन्दा पनि विज्ञान-प्रविधिमा गरिने लगानीका रूपमा लिनुपर्छ। अहिल्यै पर्याप्त लगानी नगरे महामारीको अर्को चरणमा थेग्नै नसक्ने मूल्य चुकाउनुपर्छ। नेपाल विज्ञान-प्रविधिमा विश्व समुदायभन्दा धेरै पछि छ। तसर्थ यो महामारीलाई हामी विज्ञान-प्रविधिमा अधिकतम लगानी गर्ने अवसरका रूपमा सदुपयोग गर्ने कि?

(डा.श्रेष्ठ अमेरिकास्थित युनिभर्सिटी अफ क्यलिफोर्निया, सानफ्रानसिस्कोमा रिसर्च स्कलरका रूपमा क्यान्सर अनुसन्धानमा संलग्न छन्। साथै बायोटेक्नोलोजी सोसाईटी अफ नेपाल (बिएसएन) सँग पनि आबद्ध छन्।)

Raunak Shrestha
Raunak Shrestha
Post-doctoral Research Scholar (Computational Biology)

University of California, San Francisco (UCSF)